विद्युत् महसुलमा भ्याट हटाइएको सम्बन्धी प्राधिकरणको सार्वजनिक स्पस्टिकरण

+
-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल सरकारको स्वामित्व) ले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी अन्योल हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

प्राधिकरणका अनुसार आर्थिक ऐन २०८३ अनुसार विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्था भएपछि २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएका ग्राहकलाई मासिक विद्युत् महसुल बिलमा नियमानुसार भ्याट समावेश गरी बिल जारी गरिएको छ।

तर साउन महिनामा जारी गरिएका केही बिलमा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण मागेको थियो। विभागको २०८३ साउन १९ गतेको सूचनाअनुसार २०८३ असारसम्मको विद्युत् उपभोगको बिल साउन वा त्यसपछि जारी भए पनि साउन १ गतेअघि उपभोग भएको विद्युत् सेवामा भ्याट नलाग्ने स्पष्ट गरिएको छ।

यसअनुसार असार महिनाको विद्युत् उपभोगबापत ग्राहकबाट असुल गरिएको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित सबै ग्राहकलाई यसबारे जानकारी गराउँदै कुनै अन्योलमा नपर्न आग्रह गरेको छ।