काठमाडौं । नेकपा (एमाले) चन्द्रागिरि नगर समितिले राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शिलान्यासको शिलालेख नियतवश हटाइएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। समितिले उक्त कार्यलाई इतिहास मेटाउने प्रयासको संज्ञा दिएको छ।
समितिले एमाले नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको सुरुङमार्ग निर्माण योजनाले देशको विकास र आधुनिक यातायात पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ। आयोजना सफल बनाउन योगदान गर्ने सबै पक्षलाई धन्यवाद दिँदै विकाससँग जोडिएको इतिहासलाई सम्मान गर्नुपर्ने धारणा विज्ञप्तिमा व्यक्त गरिएको छ।
विज्ञप्तिमा शिलान्यासको शिलालेख हटाउने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै इतिहास मेटाउने प्रयासको विरोध गरिएको छ। साथै सुरुङमार्ग निर्माणबाट प्रभावित स्थानीय बासिन्दाको खानेपानी व्यवस्थापन, चर्किएका घरहरूको उचित क्षतिपूर्ति तथा स्थानीयलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

