काठमाडौं । किराँत राई यायोक्खा केन्द्रीय समितिले सुनसरीको धरान–१४ स्थित ऐतिहासिक विजपुर दरबार क्षेत्रमा रहेको किरात राई समुदायको सांस्कृतिक सामग्री वाबु (चिण्डो) को प्रतिमा तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले उक्त घटनालाई सामाजिक तथा साम्प्रदायिक सद्भाव भड्काउने गतिविधिका रूपमा व्याख्या गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
किराँत राई यायोक्खाका अध्यक्ष जीवन हिताचाे राई र महासचिव भिमराज राईले आइतबार जारी गरेको विज्ञप्तिमा रातिको समयमा योजनाबद्ध रूपमा प्रतिमा उखेलेर लडाइएको भन्दै यस्ता गतिविधिले धार्मिक तथा सांस्कृतिक सहअस्तित्वमा खलल पुर्याउने उल्लेख गरिएकाे छ। संस्थाले सबै समुदायबीचको आपसी सम्मान र एकताको वातावरण कायम राख्न आग्रह गर्दै कुनै पनि प्रकारको साम्प्रदायिक हिंसा वा द्वेष फैलाउने प्रयास स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिअनुसार विजपुर दरबार क्षेत्र लामो समयदेखि किराँत समुदायको ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा प्रयोग हुँदै आएको छ। सो क्षेत्रमा विगतदेखि नै साकेला पूजा, सांस्कृतिक कार्यक्रम तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन हुँदै आएको र स्थानीय सरकार तथा सम्बन्धित पक्षसँगको सहमतिअनुसार सांस्कृतिक संरचनाहरू निर्माण गरिएको यायोक्खाको दाबी छ।
यायोक्खाले विगतमा धरान उपमहानगरपालिका, चार किरात संस्था तथा आदिवासी जनजाति संघ–संस्थाबीच विजपुर दरबार क्षेत्रको संरक्षण र व्यवस्थापनका विषयमा सहमति भएको स्मरण गराउँदै त्यही सहमतिअनुसार ऐतिहासिक तथा साझा सांस्कृतिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।संस्थाले घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई अनुराेध गरिएको छ।

