अ+
अ
अ-
काठमाडौं। आज उद्घाटन गरिएको नागढुङ्गा–सिस्ने सुरुङ मार्गको फ्लाइओभरमाथि सुरुङ मार्ग पीडित संघर्ष समितिले प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र नेपाल प्रहरीबीच केहीबेर धकेलाधकेल (गम्सागम्सी) भएको थियो। प्रहरीले माइकिङ गर्दै भिडभाड नगर्न तथा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आग्रह गरेको थियो।
प्रदर्शनकारीहरूले कालो झण्डा र विभिन्न प्लेकार्डसहित सुरुङ मार्ग उद्घाटनको विरोध गरेका थिए। सुरुङ मार्ग पीडित संघर्ष समितिले आयोजना निर्माणको प्रारम्भिक चरणदेखि नै आफ्नो बस्ती प्रभावित भएको, उचित क्षतिपूर्ति, पुनर्स्थापना तथा स्थानान्तरणको व्यवस्था गर्नुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएको जनाएको छ।
समितिका अनुसार आफ्ना मागहरूको उचित सम्बोधन नभई सुरुङ मार्ग सञ्चालनमा ल्याइएको भन्दै उनीहरूले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन्।

