काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण सम्पन्न भएको नागढुङ्गा–सिस्ने सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटनपछि सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूत मायदा तोरुले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्नेछन्। उद्घाटनपछि मन्त्री, राजदूत तथा जाइकाका प्रतिनिधिहरूले सुरुङमार्ग हुँदै सवारी सञ्चालन गरी यसको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ।
नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको यो सुरुङ २ हजार ६ सय ८८ मिटर लामो छ। प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई प्राथमिकता दिइने जनाइएको छ।
सुरुङमार्ग सञ्चालनसँगै सवारीसाधनका लागि शुल्क पनि निर्धारण गरिएको छ। काठमाडौं प्रवेश गर्दा कार, जिप र भ्यानले रु. ८५ तथा बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ। त्यस्तै मिनिबस, ट्रक र टिप्परले काठमाडौं प्रवेश गर्दा रु. ११५ र बाहिरिँदा रु. ८० शुल्क तिर्नुपर्नेछ। सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।
परियाेजनाका परामर्शदाता इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सवारी सञ्चालन सुरक्षित बनाउन सीसीटीभी, सञ्चार प्रणाली, आपत्कालीन सुरक्षा उपकरण तथा अन्य आवश्यक पूर्वाधार जडान गरिएको छ।
यो परियाेजनाकाे लागि जापान सरकारकाे २१ अर्ब सहुलियत ऋण र नेपाल सरकारकाे ६ अर्ब लगानी भएको छ।

