लुम्बिनी प्रदेश सरकारबाट काङ्ग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिदै

+
-

 

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।

 

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी बीच नयाँ सत्ता समीकरणको सहमति भएपछि सरकारमा रहन नैतिक आधार समाप्त भएको निष्कर्षसहित काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेका हुन्।

 

शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातै प्रदेशमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि लुम्बिनी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणअनुसार सरकार पुनर्गठन हुने तयारी सुरु भएको छ ।

 

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमल्सिनाले पार्टीको निर्देशन आए पश्चात् सामुहिक राजिना दिने बताएका छन् ।

 

असारको अन्तिम साता नेपाली कांग्रेसको केन्द्रीय समितिले नेकपा एमालेसँगको सत्तासमीकरण अन्त्य गर्ने निर्णय गरेको थियो। त्यसपछि सातै प्रदेशमा सत्ता समीकरण परिवर्तन हुने प्रक्रिया अघि बढ्यो। त्यसैक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै सातै प्रदेशमा नयाँ सरकार गठन हुन सक्ने संकेत दिएका थिए।

 

तर पछिल्ला केही दिनयता भने सभापति थापाले कांग्रेस सत्ताका लागि मरिहत्ते नगर्ने, आवश्यक परे विपक्षमै बसेर पनि जनताको पक्षमा भूमिका निर्वाह गर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।