अ+
अ
अ-
काभ्रेपलान्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काभ्रेपलाञ्चोकको सुर्यविनायक- धुलिखेल सडकखण्ड तथा बीपी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्देशनअनुसार मन्त्री तथा सांसदहरूले जिल्ला र स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमअन्तर्गत मन्त्री लम्साल अनुगमनमा पुग्नुभएको हो।
सडक विभागका कर्मचारी, इन्जिनियर तथा मन्त्रालयका अधिकारीहरूसहित गरिएको अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माणाधीन सडक आयोजनामा ढिलाइ हुनुका कारण पहिचान गर्न, देखिएका समस्या तत्काल समाधान गर्न तथा आयोजनाको भौतिक प्रगतिबारे विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ।
आवश्यक आर्थिक, प्राविधिक तथा प्रशासनिक सहजीकरण मन्त्रालयबाट उपलब्ध गराएर निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभएको जनाइएको छ।
अनुगमनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम पनि सहभागी हुनुभएको थियो। उहाँले कानुनी व्यवस्था, विभिन्न धारा तथा उपधाराका कारण विकास निर्माणमा देखिएका अवरोधहरूको पहिचान गरी आवश्यक कानुनी सहजीकरणका लागि सम्बन्धित पक्षसँग छलफल गरिने बताउनुभयो।
रास्वपा काभ्रेका जिल्ला सभापति प्रविनकुमार ढकालले मन्त्री लम्सालको सचिवालयका टोलीलाई मण्डनदेउपुरको जिरो किलो–मण्डनदेउपुर सडकखण्ड तथा खावा सडकखण्डको पनि स्थलगत अनुगमन गराइएकाे जानकारी दिनु भयो । टेन्डर प्रक्रिया सम्पन्न भइसके पनि निर्माण कार्य सुरु नभएको भन्दै तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
सभापति ढकालका अनुसार टोलीले मण्डनदेउपुर नगर अस्पतालको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालको सेवा, पूर्वाधार र आवश्यक सुधारका विषयमा समेत छलफल भएको बताइएको छ। स्रोतका अनुसार मन्त्री लम्सालको टोलीले काभ्रे, सिन्धुली र दाेलखा आसपासका क्षेत्रमा सञ्चालित सडक तथा भौतिक पूर्वाधार विकास आयोजनाको स्थलगत निरीक्षण गर्ने छ।


