अ+
अ
अ-
काठमाडौ । आज हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूका लागि विशेष श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ।
धार्मिक मान्यताअनुसार यस अवधिमा भगवान् विष्णु योगनिद्रामा रहने विश्वास गरिन्छ, त्यसैले विष्णुको पूजा, आराधना र हरिनाम संकीर्तनको विशेष महत्त्व रहन्छ। हरिशयनी एकादशीका दिन घर–घरमा रहेको तुलसीको मठमा तुलसी रोप्ने परम्परा पनि छ। आज रोपिएको तुलसीलाई चतुर्मासभर श्रद्धापूर्वक सेवा-पूजा गरिन्छ र हरिबोधिनी एकादशीका दिन राधा-दामोदर तथा भगवान् विष्णु-लक्ष्मीको पूजा विशेष रूपमा गर्ने चलन रहेको छ।
धार्मिक महत्त्वसँगै तुलसीलाई आयुर्वेदिक दृष्टिले पनि अत्यन्त उपयोगी औषधीय वनस्पति मानिन्छ। चिसो लाग्दा, रुघाखोकी हुँदा तथा अन्य सामान्य स्वास्थ्य समस्यामा तुलसीको प्रयोग गरिने परम्परा रहिआएको छ। आजका दिन हिन्दू धर्मावलम्बीहरूले एकादशी व्रत बसेर भगवान् विष्णुको आराधना गर्नुका साथै तुलसीको सेवा–पूजा गर्ने गर्दछन्।
धार्मिक विश्वासअनुसार एकादशीको व्रतले स्वास्थ्य, सुख, शान्ति, आयु र आरोग्य प्राप्त हुने तथा विशेषगरी पेटसम्बन्धी समस्यामा लाभ पुग्ने मान्यता रहेको छ। नेपाली समाजमा प्रचलित उखान “व्रत बस्नु एकादशी, तीर्थ जानु काशी” ले पनि एकादशी व्रतको धार्मिक महत्त्वलाई झल्काउँछ। यही विश्वासका साथ आज देशभरका हिन्दू धर्मावलम्बीहरूले हरिशयनी एकादशी श्रद्धा र भक्तिभावका साथ मनाइरहेका छन्।


