काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई निर्वाचन क्षेत्रमा हुने भ्रमणलाई व्यवस्थित, परिणाममुखी र नागरिक–केन्द्रित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ। रास्वपाका महासचिव विपिन कुमार आचार्यले जारी गरेको परिपत्रमा निर्वाचन क्षेत्र वा जिल्लाको भ्रमणअघि सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी समितिलाई औपचारिक जानकारी गराई आवश्यक समन्वय गर्न सांसदहरूलाई निर्देशन दिइएको छ।
परिपत्रअनुसार भ्रमणका क्रममा स्थानीय समितिसँग पूर्वछलफल गरी क्षेत्रका प्रमुख समस्या पहिचान गर्न, तिनको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न तथा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउन भनिएको छ। यस्तै, कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको सक्रिय नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्ने, भ्रमणलाई तडकभडक, भीडभाड र अनावश्यक खर्चबाट मुक्त राखी मितव्ययी तथा पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
रास्वपाले सांसदहरूलाई नागरिकबाट प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिका प्रतिवेदनलाई लिखित रूपमा संकलन गरी संसदीय दलमा पेश गर्न पनि निर्देशन दिएको छ। पार्टीले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको सुदृढीकरण एकअर्काका पूरक भएको उल्लेख गर्दै व्यवस्थित जनसंवाद र समन्वयमार्फत जनअपेक्षालाई संसदीय एजेन्डामा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरेको छ।

