अ+
अ
अ-
काठमाडौं । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको भन्दै युवा तथा विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिविना लोक सेवा आयोगमार्फत पदपूर्तिको परीक्षा नलिने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरूले “न्यायपूर्ण नियुक्ति गर”, “मेरिट प्रणाली सुनिश्चित गर”, “करार प्रणालीको दुरुपयोग बन्द गर”, “योग्यता र खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। सरकारको सचिवस्तरीय बैठकले नयाँ संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण सम्पन्न भई कर्मचारी व्यवस्थापन नभएसम्म स्थायी पदपूर्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयले लोक सेवा आयोगबाट हुने परीक्षा तथा स्थायी नियुक्ति प्रक्रिया प्रभावित भएको भन्दै युवाहरूले त्यसको विरोध गरेका हुन्। प्रदर्शनकारीहरूले योग्य उम्मेदवारको अवसर नरोकिने गरी लोक सेवा परीक्षा यथाशीघ्र सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

