अ+
अ
अ-
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको मार्ग आज पनि नेपालको राजनीतिक यात्राको मार्गदर्शक रहेको बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार जारी शुभकामना सन्देशमा देउवाले बीपीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको स्मृतिप्रति सम्मान व्यक्त गरेका छन्। देउवाले आफ्नो राजनीतिक यात्रा बीपी कोइरालाकै नेतृत्वमा सुरु गर्न पाएको जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै बीपीले दिएको विश्वास, जिम्मेवारी र लोकतान्त्रिक संस्कारले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गदर्शन गरेको बताएका छन्।
लोकतन्त्रभन्दा ठूलो कुनै विकल्प नरहेको र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति नहुने आफ्नो विश्वास आज पनि अटल रहेको उनले उल्लेख गरेका छन्। उनले नेपाली कांग्रेसले विगत आठ दशकदेखि निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौतीबीच पनि पार्टीले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। स्वास्थ्य उपचारका सिलसिलामा केही समय परिवारसहित विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको देउवाको भनाइ छ।
उनले फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको दुरुपयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन तथा मानसिक र भौतिक त्रास सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्। देउवाले बीपीले अघि सारेका लोकतान्त्रिक मूल्य, राष्ट्रिय मेलमिलाप र जनताको सर्वोच्चताका आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेस भविष्यमा पनि लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

