काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको संस्थापन पक्ष र इतर समूहबीच एकताको प्रयास निरन्तर जारी रहने बताएका छन्। बुधबार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र दुवै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको सन्देश दिने तयारी गरेका हुन्।
कोइराला निकट स्रोतका अनुसार, उनी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा इतर समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन्। स्रोतले संस्थापन पक्षबाट निमन्त्रणा नआएको र आफूलाई आवश्यक ठानिएको अनुभूति नभएकाले निम्ता आएको कार्यक्रममा सहभागी हुन लागेको जनाएको छ।
उता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय, बल्खुमा बीपी स्मृति दिवसको कार्यक्रम आयोजनाकाे तयारी गरेको छ।। उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
यता पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा कमलादीस्थित प्रज्ञा भवनमा इतर समूहको कार्यक्रम तय गरिएको छ।
नेता दिनेशचन्द्र थपलियाले पार्टीभित्र सबै पक्षलाई समेट्दै युवादेखि अग्रजसम्मलाई एकताबद्ध बनाउने वातावरण आवश्यक रहेको बताए। उनका अनुसार संस्थापन पक्षले एकताका लागि अपेक्षाअनुसार लचकता देखाउन सकेको छैन। तर, डा. शेखर कोइराला पार्टीका विपक्षी नभई कांग्रेसको एकताकै पक्षमा रहेको उनले स्पष्ट पारे।
थपलियाले बीपी स्मृति दिवसका अवसरमा डा. कोइरालाले दिने सन्देशले पार्टीभित्र थप एकताको पहल र संवादलाई बल पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यो कार्यक्रम पार्टी विभाजनको संकेत नभई आ–आफ्नो स्थानबाट बीपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो।

