अ+
अ
अ-
काठमाडौ । गोरखा दरबारस्थित गोरखकाली देवीको पीठ शाह वंशको कुलदेवताको रूपमा श्रद्धापूर्वक पूजा गरिने पवित्र स्थल मानिन्छ। यहाँ प्रत्येक वर्ष कृष्ण अष्टमीका अवसरमा विशेष पूजा–आराधना गरिन्छ। साथै, पौष कृष्ण अष्टमीमा पनि विशेष पूजा गर्ने परम्परा रहिआएको छ।
गोरखकाली मन्दिरमा जमरा राखी फुलपातीसहित काठमाडौं ल्याउने चलन निकै पुरानो हो, जुन परम्परा आजसम्म निरन्तर रूपमा कायम छ। गोरखालीहरूको रक्षा, समृद्धि र कल्याणका लागि गोरखकाली देवीको पूजा विशेष फलदायी मानिन्छ। गोरखनाथ बाबाको महिमासँग जोडिएको गोरखा क्षेत्र सनातन धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण धार्मिक केन्द्र हो।
गोरखनाथलाई महान योगीका रूपमा सम्मान गरिन्छ। गोरखनाथको नामसँग जोडिएको गोरखा दरबार र मन्दिर शाह राजवंश तथा नेपालको राजपरिवारका लागि ऐतिहासिक र धार्मिक दृष्टिले विशेष महत्व राख्छ। काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरखनाथ मन्दिर पनि उत्तिकै पवित्र मानिन्छ। धार्मिक विश्वासअनुसार गोरखनाथ बाबाले त्यहाँ १५ वर्षसम्म तपस्या गर्नुभएको थियो।
यद्यपि, पछिल्लो समय मन्दिर संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान नपुगेको स्थानीयहरूको गुनासो रहेको छ। यसैबीच, आज परेको बुध अष्टमी पनि धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ। ज्योतिषशास्त्रअनुसार बुध ग्रहको शुभ प्रभाव प्राप्त गर्न बुध अष्टमीका दिन विशेष पूजा–आराधना गर्ने परम्परा छ। श्रद्धापूर्वक पूजा गरि, व्रत बस्ने तथा प्रसाद ग्रहण गरेमा बुद्धि, स्वास्थ्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

