श्रावणको पहिलो सोमबार आज: देशभरका शिवालयमा भक्तजनको घुइँचो

+
-

काठमाडौं।  आज श्रावण महिनाको पहिलो सोमबार। हिन्दू धर्मावलम्बीहरूले श्रावण महिनालाई भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मान्दै व्रत, पूजा र दर्शन गर्ने परम्परा रहिआएको छ। विशेषगरी श्रावणका प्रत्येक सोमबार शिव मन्दिर तथा शिवालयहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लाग्ने गर्दछ।

धार्मिक मान्यताअनुसार श्रावण महिनामा भगवान शिवको पूजा-आराधना गरी व्रत बस्दा मनोकामना पूरा हुने, सुख-समृद्धि प्राप्त हुने र भगवान शिव प्रसन्न हुने विश्वास रहेको छ। यस अवसरमा भक्तजनहरूले शिवलिङ्गमा दूध, दही, घिउ, मह, जल, बेलपत्र, धतुरो तथा विभिन्न नैवेद्य चढाएर विशेष पूजा गर्ने गर्दछन्।

पुराणहरूमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिएको उल्लेख छ। यस अवधिमा भगवान विष्णु योगनिद्रामा रहने तथा देवताहरू पृथ्वीमा गुप्तरूपमा विचरण गरी भक्तजनलाई आशीर्वाद दिने धार्मिक विश्वास रहेको छ। यही कारण चतुर्मासभरि विशेष पूजा, व्रत र धार्मिक अनुष्ठान गर्ने परम्परा रहँदै आएको छ।

श्रावण महिना विशेषगरी हिन्दू महिलाहरूका लागि पनि आस्था र उत्सवको महिना मानिन्छ। हरियो चुरा, हरियो पोते, मेहन्दी तथा व्रत–पूजासहित उनीहरूले भगवान शिव र माता पार्वतीको आराधना गर्ने परम्परा रहेको छ।

श्रावणको पहिलो सोमबारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेपलाञ्चोकको धनेश्वर महादेव, भक्तपुरको साँगास्थित साँगा महादेव लगायत देशभरका प्रमुख शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

सुरक्षा व्यवस्था, दर्शन व्यवस्थापन तथा भक्तजनको सहज आवागमनका लागि सम्बन्धित निकायहरूले आवश्यक तयारीसमेत गरेका छन्। श्रावणभर देशका विभिन्न शिव मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन र धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्।