अ+
अ
अ-
काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति उठेका आलोचनापछि उक्त गीत आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्।
थापाले सार्वजनिक गरेको विज्ञप्तिमा गीतका केही शब्द तथा प्रस्तुतिका कारण आदरणीय दर्शक, शिक्षक-शिक्षिका, गुरुजनलगायतको भावनामा चोट पुगेको महसुस भएको उल्लेख गर्दै त्यसप्रति हृदयदेखि नै क्षमायाचना गरेका छन्। उनले आफ्नो उद्देश्य कुनै पनि पेशा, व्यक्ति, समुदाय वा कसैको भावनामा चोट पुर्याउने नभई चलचित्रको प्रचार-प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु रहेको स्पष्ट पारेका छन्।
थापाले प्राप्त सुझाव र आलोचनालाई गम्भीरतापूर्वक आत्मसात् गर्दै आगामी दिनमा अझ जिम्मेवार, उत्कृष्ट र सबैको मन जित्ने सिर्जना लिएर आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। विज्ञप्तिको अन्त्यमा उनले निरन्तर माया, साथ, विश्वास, हौसला तथा रचनात्मक सुझाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।


