अ+
अ
अ-
– शिशिर भण्डारी
संसदमा
एउटा आँसु खस्यो ।
सत्तापक्षले टेबुल ठोक्यो ।
प्रतिपक्ष मौन रह्यो ।
देशले दृश्य हेर्यो ।
कसैले
त्यसलाई संवेदना भने ।
कसैले
मानवता ।
म भने
एउटै प्रश्नमा अड्किएँ—
के आँसुको पनि हैसियत हुन्छ र ?
एउटा थोपा
रोस्ट्रमबाट झर्छ ।
अर्को थोपा
राज्यकै निर्णयको भार बोकेर
निर्दोषका आँखाबाट ।
फरक यत्ति हो—
पहिलो थोपालाई संवेदना भनिन्छ ।
दोस्रोलाई
देख्ने फुर्सद पनि राज्यसँग हुँदैन ।
कसैले भन्यो—
“उहाँ भावुक हुनुभयो ।”
मेरो मनले सोध्यो—
के भावुकता भनेको
अरूलाई रुवाएर
आफू रोइदिन पाउने सुविधा हो ?
त्यसपछि
मेरो स्मृतिमा
रोष्ट्रमबाट खसेको आँसु होइन,
त्यसभन्दा अघि
मौन बसेको विवेक उभिरह्यो ।
किनकि
आँसु
निर्णयको अन्तिम भाषा हो ।
विवेक
त्यसको पहिलो आवाज ।
त्यसैले
मलाई आँखामाथि शङ्का लाग्दैन,
मौन विवेकमाथि लाग्छ ।
यदि
विवेक समयमै बोलेको भए,
आँसुले
सायद बोल्नै पर्दैनथ्यो ।
त्यसैले
जब सत्ताको आँखा रसाउँछ,
म त्यो आँखा हेर्दिनँ ।
म केवल
एउटा प्रश्न सोध्छु—
त्यो आँसु झर्नुअघि
विवेक कहाँ थियो ?
किनकि
आँसुको अन्तिम परीक्षा
आँखामा हुँदैन ।
त्यो त
आँसु झर्नुअघि
विवेक कता उभिएको थियो
, त्यहीँ हुन्छ ।
इतिहासले पनि
आँसुको होइन,
मौन विवेकको साक्षी राख्छ ।
किनकि
निर्दोषलाई रुवाइसकेपछि
रुन सक्ने क्षमता
विवेक होइन,
स्वभाव पनि हुन सक्छ ।
र
कहिलेकाहीँ
सिर्फ एउटा अभिनय ।
त्यसैले आँसु देख्दा म प्रभावित हुँदिनँ ।
म केवल
मौन विवेकको इतिहास पढ्छु ।
किनकि
गोहीको निर्दोषीता
उसको आँखा होइन,
उसको सिकार बोल्छ ।
– २०८३ साउन – १ गते ।
राेष्टमकाे आँसु रमौन
#Literature #Writing
#ShishirBhandari #Kavrepalanchok
#Banepa #TukiNetwork


