अ+
अ
अ-
काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र मास्टरनी को ‘ताराबाजी लै…’ बोलको गीत विवादमा परेको छ। शिक्षक–शिक्षिकाको मर्यादामा आँच पुर्याउने शब्द प्रयोग गरिएको भन्दै उक्त गीतमाथि प्रतिबन्ध लगाउन माग गरिएको हो।
शुक्रबार तनहुँको व्यास नगरपालिका–स्थित बाराही माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सचिव रमेश बाबु भट्टराईले चलचित्र विकास बोर्डमा गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै निवेदन दिएका छन्। निवेदनमा गीतमा प्रयोग गरिएका शब्दले शिक्षक पेसालाई अपमानित तथा अमर्यादित बनाउने प्रयास गरेको उल्लेख गर्दै सार्वजनिक प्रदर्शन रोक्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
यसअघि पनि नेपाल शिक्षक महासङ्घ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गीतप्रति आपत्ति जनाएका थिए। उनीहरूले शिक्षक समुदायको सम्मानमा आँच पुग्ने सामग्री सच्याउन र आवश्यक कदम चाल्न सम्बन्धित पक्षसँग माग गरेका छन्।


