सांसदकाे सम्पत्ति विवरण बुझाउन संसद सचिवालयको उर्दी

अ+
अ
अ-

काठमाडौं । संघीय संसद् सचिवालयले संघीय संसद्का माननीय सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।

सांसद सुविधा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको सूचनाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र (२०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म) आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ ।

सम्पत्ति विवरण सिलबन्दी खाममा राखी संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा दर्ता गराउन सचिवालयले आग्रह गरेको छ।

सचिवालयका अनुसार सम्पत्ति विवरण फाराम सांसद सुविधा व्यवस्थापन शाखा तथा संसद् सचिवालयको वेबसाइटबाट पनि उपलब्ध हुनेछ। सिलबन्दी खाममा नाम, लिङ्ग, कार्यालय, पद, प्रतिनिधिसभा सदस्यका हकमा जिल्ला/निर्वाचन क्षेत्र, राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।