काठमाडौं । पछिल्ला तीन महिनामा देशभर प्राकृतिक तथा अन्य विपद्का ३ हजार २९६ घटना दर्ता भएका छन्। ती घटनामा १६० जनाको मृत्यु, दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार मसान्तसम्म भएका विपद्का घटनाबाट ४ हजार ३७५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
तथ्यांकअनुसार सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीबाट १७ जनाको मृत्यु, १०९ जना घाइते र ९९० परिवार प्रभावित भएका छन्।
यस अवधिमा ५१४ वटा सर्पदंशका घटनामा ३८ जनाको मृत्यु र ४७९ जना घाइते भएका छन्। ४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा १,३५६ परिवार प्रभावित भएका छन्।
त्यस्तै, ४३३ पहिरोका घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन्। २२३ चट्याङका घटनामा २४ जनाको मृत्यु र १२० जना घाइते भएका छन्।
१८१ वन्यजन्तु आक्रमणका घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्। १६१ बाढीका घटनामा ९ जनाको मृत्यु, २ जना बेपत्ता, ९ जना घाइते र ३९६ परिवार प्रभावित भएका छन्।
यस्तै, १५३ भारी वर्षाका घटनामा ४ जनाको मृत्यु, १ जना घाइते र १३२ परिवार प्रभावित भएका छन्। ५५ वटा लेक लाग्ने घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना उपचाररत छन्।
यस अवधिमा १९१ वन डढेलोका घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन्। ढुङ्गा खसेको एक घटनामा २ जनाको मृत्यु भएको छ भने दुईवटा हिउँपहिरोका घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन्।
प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद्को जोखिम अझै उच्च रहेको भन्दै नागरिकलाई सतर्क रहन तथा सम्बन्धित निकायका सूचना र सुरक्षा निर्देशनको पालना गर्न आग्रह गरेको छ।


