शिवालयमा पूजा आराधना,साउने सङ्क्रान्ति मनाइँदै,लुताे फाल्ने

अ+
अ
अ-

शिवालयमा पूजा आराधना,साउने सङ्क्रान्ति मनाइँदै,लुताे फाल्ने
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिने श्रावण महिना आजदेखि सुरु भएको छ। श्रावणको पहिलो दिनसँगै देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्न थालेको छ। यस महिनाभर विशेषगरी सोमबार भगवान् शिवको पूजा, व्रत र जलाभिषेक गर्ने परम्परा रहिआएको छ।

पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विष भगवान् शिवले ग्रहण गरेपछि उहाँलाई प्रसन्न पार्न श्रावण महिनाभर जल, बेलपत्र, दूध, धतुरो लगायतका सामग्री अर्पण गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

धार्मिक विश्वासका अनुसार श्रावण महिनामा श्रद्धापूर्वक शिवको आराधना गरे मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने र पारिवारिक कल्याण हुने जनविश्वास रहेको छ। यस अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरूमा विशेष पूजा–आराधना गरिनेछ। श्रावण महिना सुरु भएसँगै देशका विभिन्न शिवालयमा जल चढाउने काँवर यात्रा पनि सुरु हुने छ। तराई तथा मधेशका विभिन्न स्थानबाट भक्तजनहरू पवित्र जल बोकेर नाङ्गो खुट्टै शिव मन्दिरसम्म पुगेर भगवान् शिवलाई जलाभिषेक गर्ने परम्परा रहिआएकाे छ अस्थित्व व्यवस्थापन शास्त्री तथा शास्त्रका ज्ञाता डि.पि.आत्रेय बताउनु हुन्छ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बाराको काँडघाट धाम, शिद्धेश्वर महादेव लगायत देशभरका प्रमुख शिवालयमा श्रावण महिनाभर भक्तजनको उल्लेखनीय भीड लाग्ने गर्दछ। श्रद्धालुहरूले जल, बेलपत्र, दूध तथा अन्य पूजासामग्री चढाई शिवको आराधना गर्ने परम्परा कायम रहेको छ।

धार्मिक विश्वासअनुसार श्रावण महिनामा शिवको भक्तिभावपूर्वक पूजा, व्रत तथा जलाभिषेक गरे मनोकामना पूरा हुने र सुख–समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।  साउने सङ्क्रान्ति आज, ‘लुतो फाल्ने’ परम्परा पनि छ। साउने सङ्क्रान्तिलाई ‘लुतो फाल्ने दिन’ का रूपमा पनि चिनिन्छ। वर्षायाममा बढ्ने गर्मी, आर्द्रता तथा हिलोका कारण छालासम्बन्धी समस्या बढ्ने भएकाले परम्परागत रूपमा शरीरमा लागेको लुतो तथा रोगबाट मुक्ति मिलोस् भन्ने विश्वासका साथ नदी वा खोलामा स्नान गर्ने, औषधीय माटो दल्ने तथा प्रतीकात्मक रूपमा लुतो फाल्ने चलन रहेको छ।

धार्मिक विश्वाससँगै स्वास्थ्य र सरसफाइको सन्देश बोकेको यो पर्व देशका विभिन्न स्थानमा परम्पराअनुसार मनाइँदै छ। श्रावण महिनाभर शिवालयहरूमा भक्तजनको भीड लाग्ने गरेकाे छ ।