अ+
अ
अ-
काठमाडौं। सिंहदरबारमा कार्यरत करार, अस्थायी तथा दैनिक ज्यालादारी कर्मचारीहरूले सरकारको निर्णयको विरोध गर्दै आन्दोलन सुरु गरेका छन्। सरकारले साउन १ गतेदेखि करार, अस्थायी र दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छलफल भएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।
सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिता अपनाउने उद्देश्यले अबदेखि ठेक्का प्रक्रियामार्फत जनशक्ति आपूर्ति गर्ने तयारी गरेको बताइएको छ। यही निर्णयका कारण लामो समयदेखि विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारीको रोजगारी जोखिममा परेको भन्दै उनीहरूले विरोध जनाएका छन्। आन्दोलनरत कर्मचारीहरूले वर्षौँदेखि सेवा गर्दै आएका कर्मचारीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै निर्णय फिर्ता लिन माग गरेका छन्।
उनीहरूले सर्वोच्च अदालतले २०७० सालमै करार तथा अस्थायी कर्मचारीका लागि उचित तलब-भत्ता र सामाजिक सुरक्षा सुनिश्चित गर्न दिएको आदेश कार्यान्वयन गर्नुपर्ने मागसमेत दोहोर्याएका छन्।


