अ+
अ
अ-
काठमाडौं| माइतीघर मण्डलामा किसानहरूले गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान माइतीघर क्षेत्रमा भेला भएका किसानहरूले आफूले उत्पादन गरेको गोलभेँडाले उचित मूल्य नपाएको भन्दै सडकमै गोलभेँडा पोखेर सरकारको ध्यानाकर्षण गराएका हुन्।
किसानहरूले उत्पादन लागतसमेत नउठ्ने गरी मूल्य घटेको, बजार व्यवस्थापन प्रभावकारी नभएको र बिचौलियाको नियन्त्रणका कारण आफूहरू मारमा परेको गुनासो गरेका छन्। उनीहरूले कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानमैत्री नीति लागू गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा किसानहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।


