काठमाडौ । भारतसँग आपूर्ति सहमति भएपछि नेपाल आयल निगमको निर्णय, नयाँ मूल्य प्रतिसिलिन्डर रु. २,०६० कायम
काठमाडौं। नेपाल आयल निगमले भोलिदेखि उपभोक्तालाई पुनः पूरा १४.२ केजीको एलपी ग्यास सिलिन्डर वितरण गर्ने भएको छ।
निगमले विज्ञप्ति जारी गर्दै भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग आपूर्ति सम्बन्धी सहमति भएपछि पूर्ण क्षमताको ग्यास सिलिन्डर बजारमा उपलब्ध गराउने निर्णय गरिएको जनाएको हो। निगमका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर रु. २,०६० तिरेर १४.२ केजीको एलपी ग्यास प्राप्त गर्न सक्नेछन्।
यसअघि उपभोक्ताले आधा सिलिन्डर ग्यास मात्र पाउने व्यवस्था गरिएको थियो। इरान–अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा अनिश्चितता बढेपछि सरकारले खपत नियन्त्रण गर्न नेपाल आयल निगमलाई आधा सिलिन्डर मात्र वितरण गर्न निर्देशन दिएको थियो।
त्यसैगरी, मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धनको खपत घटाउने उद्देश्यले सरकारले केही समयका लागि शनिबार र आइतबार गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको थियो।


