अ+
अ
अ-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार जेठ मसान्तसम्म २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको हो। विदेशमा कार्यरत नेपालीले पठाएको रकमले विदेशी मुद्रा सञ्चिति बढाउनुका साथै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ। प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ८० हजार २११ पुगेको छ। त्यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ४४ हजार ७७५ रहेको छ।
यस आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ७ लाख २५ हजार पुगेको देखिन्छ। आर्थिक विश्लेषकहरूका अनुसार रेमिट्यान्समा आएको वृद्धिले उपभोग, बैंकिङ प्रणालीमा तरलता, विदेशी मुद्रा सञ्चिति तथा समग्र अर्थतन्त्रलाई मजबुत बनाउन सकारात्मक योगदान पुर्याएको छ। यद्यपि दीर्घकालीन आर्थिक विकासका लागि रेमिट्यान्समा मात्र निर्भर नभई उत्पादन र रोजगारी सिर्जनामा पनि जोड दिनुपर्ने उनीहरूको सुझाव छ।


