काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको तथा सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारसँग सम्बन्धित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा आमसञ्चारमाध्यम राज्यको चौथो अंग भएको उल्लेख गर्दै पत्रकारलाई निर्भीक र स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गरिनुपर्ने बताइएको छ। पत्रकारलाई त्रास, धम्की वा मनोवैज्ञानिक दबाबमा पार्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको र त्यस्ता कार्य स्वीकार्य नहुने रास्वपाले स्पष्ट पारेको छ।
पार्टीले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई कमजोर पार्ने उद्देश्यका गतिविधिको भर्त्सना गरेको छ। यस्ता घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीको पहिचान गर्न तथा कानुनबमोजिम कारबाही गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरिएको छ।
रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ। साथै सम्पूर्ण सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन अपिल गर्दै पार्टी प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा सधैँ दृढ रहने प्रतिबद्धता जनाएको छ।

