अ+
अ
अ-
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठक गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।
आइतबार बसेको प्राधिकरणको बैठकले यसअघि गृहमन्त्री सुदन गुरुङको समन्वयमा भएको निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै सम्बन्धित निकायलाई थप सक्रिय हुन आग्रह गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले हालसम्म भएका तयारी तथा गतिविधिको समीक्षा गर्दै विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिइएको जानकारी दिनुभयो।
उहाँका अनुसार सडक, पूर्वाधार तथा उद्धारसँग सम्बन्धित विभागीय निकायलाई तयारी अवस्थामा रहन विशेष आग्रह गरिएको छ। देशभर मनसुन सक्रिय रहेकाले सम्भावित बाढी, पहिरो, डुबान र अन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।
मौसम विभागले आइतबार र सोमबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ । विशेषगरी मधेश प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।


