काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन उल्लंघन गर्ने ५९८ वटा म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ। विभागका अनुसार बिनाअनुमति भारतीय विमानस्थल प्रयोग गरेर कामदार वैदेशिक रोजगारीमा पठाउने तथा मागिएको उडान विवरण नबुझाउने कम्पनीहरूलाई असार २६ गतेको निर्णयअनुसार कारबाही गरिएको हो।
हाल विभागमा १ हजार १ सय १७ वटा म्यानपावर कम्पनी दर्ता रहेका छन्। तीमध्ये ६ सय ७८ कम्पनीले मात्रै विभागले मागेको विवरण उपलब्ध गराएका थिए। विवरणको अध्ययनपछि १५९ कम्पनीले विभागको स्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरी कामदार पठाएको र ४ सय ३९ कम्पनीले विभागको निर्देशनअनुसार विवरण नै नबुझाएको पाइएको विभागले जनाएको छ।
विभागले स्वीकृतिबिना भारतबाट कामदार पठाउने १५६ कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम पहिलो पटक सचेत गराएको छ। त्यस्तै, विवरण नबुझाउने ४ सय ३४ कम्पनीलाई दफा ३७ अनुसार पहिलो पटक सचेत गराउँदै पुनः आवश्यक विवरण बुझाउन निर्देशन दिएको छ।
यसैबीच, विभागको निर्देशन पटक–पटक उल्लंघन गर्ने ८ वटा म्यानपावर कम्पनीलाई दोस्रो पटक सचेत गराउँदै प्रत्येक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
विभागले गत चैत १ गतेदेखि जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारहरूको उडान विवरण माग गरेको थियो। वैदेशिक रोजगार ऐनको दफा २२ अनुसार कामदारलाई स्वदेशी विमानस्थलबाट मात्र पठाउनुपर्ने व्यवस्था रहेको छ।
विभागले भविष्यमा पनि ऐनविपरीत काम गर्ने तथा विभागीय निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीमाथि आवश्यकतानुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। दफा ५४ अनुसार यस्तो अवस्थामा सचेत गराउनेदेखि इजाजतपत्र (लाइसेन्स) रद्द गर्नेसम्मको कानुनी व्यवस्था रहेको विभागले स्मरण गराएको छ।

