आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम

+
-

काठमाडौं । नेपाली भाषा–साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

वि.सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई जनसामान्यसम्म पुर्‍याउने ऐतिहासिक योगदान दिनुभएको मानिन्छ। उहाँको यस कार्यले नेपाली भाषाको विकास र साहित्यको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको थियो।

ब्राह्मण परिवारमा जन्मिनुभएका आचार्यले प्रारम्भिक शिक्षा आफ्ना हजुरबुवा र बुवाबाट प्राप्त गर्नुभएको थियो। पछि बनारसमा संस्कृत साहित्यको अध्ययन गरी साहित्य सिर्जनामा सक्रिय हुनुभएको थियो।

भानुभक्तका घाँसी, बधुशिक्षा लगायतका कृतिहरूले तत्कालीन समाजको यथार्थ चित्रण गर्दै सामाजिक विकृति, असमानता र रूढीवादी सोचमाथि व्यंग्यात्मक तथा सुधारमुखी सन्देश दिएका छन्। उहाँका रचनाहरूले नेपाली साहित्यमा सामाजिक चेतनाको विकासमा समेत उल्लेखनीय योगदान पुर्‍याएका छन्।

यद्यपि, वर्तमान समयमा केही समालोचकहरूले उहाँका केही कृतिमा तत्कालीन समाजको परम्परागत र रूढिवादी दृष्टिकोण प्रतिबिम्बित भएको टिप्पणी गर्ने गरेका छन्। तर साहित्यका अध्येता र विश्लेषकहरूका अनुसार भानुभक्तका रचनाहरूले त्यस समयको समाज, संस्कृति, भाषा र शैलीलाई दस्तावेजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

भानुजयन्तीका अवसरमा देशभर साहित्यिक गोष्ठी, कविता वाचन, तथा साहित्यीक कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ।