काठमाडौं । पछिल्लो ७२ घण्टाभित्र देशका विभिन्न स्थानमा आत्मदाहका तीन वटा प्रयास भएका छन्। यी घटनाले मानसिक स्वास्थ्य, सामाजिक तनाव र आत्महत्या रोकथामका विषयमा गम्भीर बहस आवश्यक भएको देखिएको छ।
मुगुका गणेश नेपालीले बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनलाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले १० हजार रुपैयाँ जरिवाना तिराएको आरोप लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उनी र एक नगर प्रहरीबीच विवाद भएको दृश्य पनि देखिएको थियो। गम्भीर रूपमा घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
यस्तै, सर्लाहीको गोडेह नगरपालिकाका २५ वर्षीय बिवेक मण्डलले पनि आफूमाथि पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए । गम्भीर घाइते उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था पनि चिन्ताजनक छ ।
यसैबीच शनिबार बिहान करिब ६ बजे काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्साकोठाभित्र आत्मदाहको प्रयास गरेका छन्। श्रीमती र एक छोरासहित काठमाडौंमा बस्दै आएका उनले किन यस्तो कदम चाले भन्ने कारण खुल्न खुलेकाे छैन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि पनि प्रेम आचार्यको आत्मदाहको घटनापछि केही समयसम्म यस्ता प्रयासहरू शृङ्खलाबद्ध रूपमा देखिएका थिए। अहिले गणेश नेपालीको मृत्यु लगत्तै छोटो अवधिमै लगातार भएका आत्मदाहका प्रयासले समाजमा बढ्दो निराशा, मानसिक तनाव र सामाजिक दबाबबारे गम्भीर चिन्ता उत्पन्न भएको मनाेविष्लेषकहरुकाे भनाइ छ।
मानसिक स्वास्थ्यका विज्ञहरू यस्ता घटनालाई सनसनीका रूपमा होइन, रोकथाम र सचेतनाको दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन्। समयमै मनोसामाजिक सहयोग, परिवार तथा समुदायको साथ, र सम्बन्धित निकायको प्रभावकारी हस्तक्षेपले घटनाहरू न्यूनीकरण गर्न सकिने उनीहरूको धारणा छ।


