काभ्रेपलाञ्चोक। भुम्लू गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ“दावा´´ विरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ।
उपाध्यक्ष दावामाथि वर्षौंअघि ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा यसअघि जिल्ला अदालतबाट सफाइ पाइसकेपछि विपक्षीले पुनरावेदन गरेका थिए। सर्वोच्च अदालतले समेत जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।
नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा भुम्लू गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित दावाले आफूविरुद्ध पुराना घटनालाई प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको दाबी गर्दै आउनु भएको थियो ।
सर्वोच्च अदालतबाट न्याय पाएपछि उपाध्यक्ष तामाङले सामाजिक सञ्जालमार्फत न्यायपालिकाप्रति आभार व्यक्त गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, “नखाएको विष लाग्दैन भन्ने कुरा ढिलो–चाँडो प्रमाणित हुने रहेछ। सत्यको जित भएको छ। न्याय गर्नुहुने सम्मानित न्यायाधीशहरूप्रति आभार व्यक्त गर्दछु।”
विगत करिब १५ वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका तामाङ व्यवसायिक क्षेत्रसँग समेत आबद्ध हुनुहुन्छ । सर्वोच्च अदालतको फैसलासँगै उहाँमाथि लागेको मुद्दाको कानुनी विवाद टुंगिएको छ ।

