ग्लोबल आईएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

+
-

काठमाडौं । ग्लोबल आईएमई बैंकले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘ग्लोबल आईएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै देशभरका उद्यमी तथा नवप्रवर्तनमा रुचि भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार उद्यमशाला कार्यक्रममार्फत नयाँ व्यवसायिक अवधारणा भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न आवश्यक ज्ञान, सीप, परामर्श तथा मार्गदर्शन प्रदान गरिनेछ। साथै, सञ्चालनमा रहेका लघु, साना तथा मझौला उद्यमलाई थप दिगो, प्रतिस्पर्धी र व्यवस्थित बनाउन सैद्धान्तिक तथा व्यवहारिक सहयोग उपलब्ध गराइनेछ।

काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै आवेदन खुला भएको घोषणा गरे। उनले लघु, साना तथा मझौला व्यवसायीहरूले सामना गर्दै आएका साझा चुनौती समाधान गर्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अनुभवी व्यवसायी, विषयविज्ञ तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान र व्यवसाय विस्तारका प्रभावकारी उपाय प्रदान गरिने बताए।

बैंकका अनुसार उद्यमशाला कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण ‘इन्क्युबेसन’ कार्यक्रम नयाँ तथा नवप्रवर्तनकारी व्यवसायिक अवधारणा भएका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता विकास, व्यवसायिक सञ्जाल विस्तार तथा अनुभवी मार्गदर्शकको सहयोग उपलब्ध गराइनेछ।

दोस्रो चरण ‘एक्सिलेरेसन’ कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि केन्द्रित हुनेछ। यसमार्फत क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।

सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँग पहुँच विस्तारलगायत विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रमको उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।