सुरक्षा तथा आउटसोर्स श्रमिक संगठनद्वारा बाढीपीडितका लागि ६५ हजार ५ सय सहयोग

+
-

काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ६५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।

संगठनमा आबद्ध श्रमिकहरूबाट सहयोग रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि उक्त सहयोग गरिएको संगठनले जनाएको छ।

संगठनका अध्यक्ष प्रेमबहादुर कार्कीको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘यस संकटको घडीमा हाम्रो संगठन सरकारसँगै बाढी प्रभावित नागरिकको साथमा छौँ।’ संगठनले सम्पूर्ण सहृदयी व्यक्ति, संघसंस्था तथा नागरिकहरूलाई राहत, उद्धार र पुनर्स्थापनाको अभियानमा आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत अपिल गरेको छ।

अध्यक्ष कार्कीले मानविय अभियानमा संगठनको कोषमार्फत योगदान गर्ने सुरक्षा तथा आउटसोर्सका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा विभिन्न तहका प्रतिष्ठानस्तरका सम्पूर्ण नेता, शुभेच्छुक, प्रधान सेक्युरिटीका व्यवस्थापक तथा श्रमिक साथीहरूलाई धन्यवाद दिएका छन्।