नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान वितरण गरेको छ।
नगरपालिकाको पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार किसानलाई उत्पादनका आधारमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो। नगरभित्रका पाँचवटा दुग्ध सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको उनले बताए।
सहकारीमार्फत सङ्कलन भएको कुल १५ लाख ४३ हजार ११३ लिटर दूधका आधारमा किसानलाई अनुदान प्रदान गरिएको हो। गत वर्षको उत्पादनलाई आधार मानेर २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यस वर्ष दूध उत्पादन बढेकाले सबै किसानलाई अनुदान उपलब्ध गराउन दरमा केही समायोजन गरिएको आचार्यले जानकारी दिए।
उनका अनुसार दूधमा प्रदान गरिएको अनुदानले किसानको उत्पादन लागत केही हदसम्म घटाउन सहयोग पुर्याएको छ भने उत्पादन बढाउन पनि प्रोत्साहन मिलेको छ।
साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ तथा नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत सङ्कलित दूधका लागि किसानलाई अनुदान उपलब्ध गराइएको हो।
नगरप्रमुख विष्णुप्रसाद भुसालले उत्पादनमा आधारित अनुदानले किसानलाई थप उत्पादन गर्न प्रेरित गर्ने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनका अनुसार अनुदानले उत्पादन लागत घटाउन र कृषकको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पनि दूध, माछापालनलगायत उत्पादनमुखी कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराउन ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेट मंगलबार सम्पन्न नगरसभाबाट स्वीकृत भएको पशु विकास अधिकृत आचार्यले जानकारी दिए। रासस


