वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझ जटिल बन्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ खिच्ने भएको छ।
अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। राष्ट्र बैंकले यसअघि पनि दैनिक रूपमा स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्दै आएको छ।
केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाबाट खिचिएको रकम १० खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। यो रकम स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत संकलन गरिएको हो।
राष्ट्र बैंकले बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको छ। यद्यपि, बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेका केही निक्षेपको अवधि परिपक्व हुन लागेकाले पुनः बजारमा पैसा नजाओस् भनेर नयाँ निक्षेप संकलन उपकरण जारी गरिएको हो।
अधिक तरलता भएका बेला बैंक तथा वित्तीय संस्थाले अल्पकालीन अवधिका लागि स्थायी निक्षेप सुविधामार्फत रकम राष्ट्र बैंकमा राख्ने गर्छन्। निक्षेप संकलन उपकरणमार्फत भने कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर केन्द्रीय बैंकले रकम संकलन गर्ने व्यवस्था छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था सन्तुलित राख्न तथा अन्तरबैंक ब्याजदर व्यवस्थापन गर्न निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। तरलता अभाव भएका बेला भने रिपो र स्थायी तरलता सुविधामार्फत बजारमा रकम प्रवाह गर्ने गरिन्छ।


