२०८३ जेठ २४ आइतबार
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आसन्न महाधिवेशनका लागि नमोबुद्ध नगरपालिकाबाट निर्वाचन समितिलाई प्रभावित गरि महाधिवेशन प्रतिनिधिमा सिफारिस भएका एकै परिवारका काका भतिजको प्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले खारेजी गरेको छ ।
नमोबुद्ध नगरपालिकाको जेठ १६ गते सम्पन्न नगर अधिवेशनबाट निर्वाचन अधिकृतको रुपमा खटी आएका बागमती प्रदेश समिति सदस्य बसुनारायण श्रेष्ठ र जिल्ला उपसचिव समेत रहेका सहायक निर्वाचन अधिकृत शिबहरी प्याकुरेलको ठाडो निर्देशनमा एकै परिवारबाट छनोट भएका नमोबुद्ध नगरपालिका वडा नं. २ का नवराज तिमल्सिना (काका) र संजीव तिमल्सिना (भतिज) को प्रतिनिधि खारेज भएको हो ।
नवराज तिमल्सिना नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाका सहोदर भाइ हुन् भने संजीव तिमल्सिना सहोदर भतिज हुन् । २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले शर्मालाई दोहोर्याएर टिकट नदिएपछि ५ वर्षे कार्यकाल भरि नगर प्रमुखको स्वकीय सचिव भएका अर्का भतिज प्रकाश तिमल्सिना समेत २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ताका रास्वपा प्रवेश गरेका थिए ।

