पुस २ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेपाल सरकारले देशभर संचालन गरेको महत्त्वकांक्षी याेजना, प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत ,राेजगार सेवा केन्द्र ,पनौती नगरपालिकाले हालसम्म ७ सय ३४ जनालाई राेजगारी प्रदान गरिसकेकाे छ। नेपाल सरकार श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा राेजगारी सिर्जना गर्ने उदेश्यले विगत ५ वर्षदेखि उक्त कार्यक्रम संचालन गरिरहेकाे छ।
नेपाल सरकार र विश्व बैंककाे ऋण सहायतामा सुरु भएको साे कार्यक्रमबाट पनौती नगरपालिकाका १२ वटा वडाका नागरिकले प्रत्येक वर्ष राेजगारी पाइरहेकाे ` राेजगार सेवा केन्द ´पनौती शाखाकी राेजागार सहायक अनिसा खत्रीले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।
उहाँका अनुसार ,`पनौती नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा राेजगारका १९ वटा आयाेजना संचालन गरेकाे थियाे । त्यसबाट २७० जनाले प्रत्यक्ष राेजगार पाएका थिए । यस्तै आर्थिक वर्ष ७८/७९ मा ११ वटा आयाेजनाबाट २०७ जनाले राेजगारीबाट लाभ लिएका थिए। आर्थिक वर्ष ७९/८० र ८०/८१ मा क्रमश १४ र १२ वटा आयाेजना संचनलन हुँदा ७९/८० मा १६२ र ८०/८१ मा ९६ जनाले राेजगारी पाएका थिए।´ नगरपालिकाकाे` राेजगार सेवा केन्द्र´ले हालसम्म ७ सय ३४ जनालाई राेजगार दिइसकेकाे छ।
देशभित्र राेजगारीकाे अबसर सिर्जना गरि लक्षित वर्गकाे पहुँच अभिवृद्धि र राेजगार विस्तारबाट श्रम बजारमा सुधार ल्याउन संघीय सरकारले `प्रधानमन्त्री राेजगार कार्यक्रम ´संचालन गरेको हो । आर्थिक वर्ष २०८१/ ८२ काे लागि नगरपालिका भित्रका बेराेजगार तथा आर्थिक विपन्नता भएका ब्यक्तिहरुकाे आवेदन संकलन भइरहेको कार्यालयकी राेजगार सहायक खत्रीले बताउनु भयो ।
राेजगार सेवा केन्द्र पनौतीमा हालसम्म राेजगार पाँउ भनी आवेदन दिनेहरु पुरुष भन्दा महिलाकाे संङ्ख्या बढी देखिन्छ । राेजगारकाे माग गर्ने पुरुषकाे सङ्ख्या ४ सय २८ छ ,भने महिलाको सङ्ख्या ९ सय ४४ रहेको उक्त सेवा केन्द्रकाे तथ्यांकले देखाएको छ। स्थानीय तहमा दिइने राेजगारमा पुरुषहरुकाे त्यति चासाे नरहेकाे खत्रीको अनुभव छ।
सरकारले स्थानीय तहमा सिर्जना गरेको राेजगारीमा ज्यालाकाे मापदण्ड न्युन रहेकाे छ। गत वर्ष प्रतिदिन ६ सय ७२ रुपैयाँ न्युनतम ज्याला निर्धारण भएको थियो भने यस आर्थिक वर्षबाट १२ रुपैयाँ बढेर ६ सय ८४ पुगेकाे हो । लाभग्राहीलाई काम बापतकाे प्रतिदिन ज्यालाकाे निर्धारण संघीय सरकारकाे कार्यविधि अनुसार नै निर्धारण भएर आउने गरेको छ। तसर्थ हाल श्रम बजारमा चलेकाे न्युनतम ज्यालादर भन्दा सरकारले निर्धारण गरेकाे ज्यालादर आधाआधी नै कम भएकाले पुरुषहरुले साेही ज्यालादरमा काम गर्न रुचि नदेखाएको हुन सक्ने उहाँ बताउनु हुन्छ । महिला र पुरुष दुवै लिङ्गिका लाभ ग्राहीलाई समान ज्यालादर ताेकिएकाे छ।
हालसम्म ६ सय दिन राेजगारी प्रदान गरिसकेको सेवा केन्द्रले युवा राेजगारीका लागि रुपान्तरण पहल आयाेजना ( संचालन तथा व्यवस्थापन ) पहिलो कार्यविधि अनुसार आर्थिक वर्ष २०८१/ ८२ का लागि दक्ष कामदार र अदक्ष कामदारले पाउने राेजगारीलाई दुई भागमा विभाजन गरि आयोजना संचालन गर्नु पर्ने हुन्छ । जस अन्तर्गत `सीप विकास तथा जीवन उपयोगी तालिम ´रहेको छ। त्यसमध्ये `सीप विकास तालिम र कार्यस्थलमा आधारित सीप विकास तालिम हुने छन् ।
`सीप विकास तालिम´ मा छनाैटमा परेका लाभग्राहिकाे राेजगार याेग्य क्षमता अभिवृद्धि गर्न कार्यस्थलमा आधारित ४० दिनकाे र १० दिनकाे जीवन उपयोगी सीप विकास गरि, ५० दिन सीप विकास तालिम दिइने छ। साथै कार्यस्थलमा आधारित सीप विकास तालिम संचालन गर्न इकाईले सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटी विभिन्न क्षेत्रमा राेजगार दिने छ।
गत आर्थिक वर्ष जस्तै यस वर्ष पनि राेजगार सेवा केन्द्रले लाभ ग्राहीलाई राेजगारी दिने तयारी गरेकाे छ। लाभग्राही (राेजागार माग्ने ) हरुले यहि फाल्गुन महिना भित्र आवेदन दिइसक्नु पर्ने छ। राेजगारका लागि १९ वर्ष देखि ५९ वर्ष उमेर अवधिका लाभ ग्राहीले आवेदन दिने ब्यवस्था गरिएको छ। त्यसमा अदक्ष लाभ ग्राहीले सडक मर्मत तथा संम्भार तथा कुलाे ,नहर ,पैनी सरसफाइ र इकाईले आबाश्यक देखेकाे काम लगाउने छ ।सीप भएका र दक्ष लाभग्राहीले सिकर्मी ,डकर्मी ,प्लम्वर, इलेक्ट्रिसियन र अन्य उपयुक्त स्थानमा राेजगार र तालिम पाउने व्यवस्था रहेको छ।
साेही सेवा केन्द्रले आर्थिक वर्ष ८०/८१ देखि हाल सम्म वैदेशिक राेजगारीमा गएर फर्किएकाहरुका निम्ति पून: श्रम स्वीकृति पनि प्रदान गर्न सहजिकरण गरेकाे छ। हालसम्म लगभग ३० जना भन्दा बढी व्यक्तिहरुलाई पून: श्रम स्विकृति लिन सहजिकरण गरिएको राेजगार सहायक खत्रीले बताउनु भयो ।


