पुस १ साेमवार ,२०८१
काभ्रेपलान्चोक । वर्षौदेखि विवादमा रहेकाे जिल्लाको भुम्लु गाँउपालिका वडा नम्बर ७ र ८ काे जग्गा धनीपुर्जा वितरणमा अर्काे सकारात्मक प्रयत्न सुरु भएको छ। विगतमा जिल्ला नापि कार्यालयले आफ्नो कार्यालय स्थापना गरि जग्गा धनीपुर्जा वितरणकाे प्राविधिक काम अगाडि बढाएकाे थियो । तर जिल्ला मालपाेत कार्यालय काभ्रेमा भरपुर लिखत नभेटेपछि ,माेठ भिडाउन अन्याेल सिर्जना हुनुका साथै अन्य झन्झटिलो कानुनी कारण देखाउदै राेकिएकाे थियो ।
यस पटक भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा)काे सकृयतामा पुन कार्यालय स्थापना भई धनीपुर्जाकाे प्रविधिक कार्य अगाडि बढन लागेकाे हो । अध्यक्ष भुजेलका अनुसार,` जिल्ला मालपाेत कार्यालयका प्रमुख ,जिल्ला नापी कार्यालयका प्रमुख र प्राविधिक टाेलि बीच पटकपटक छलफल र बैठक बसिएकाे छ। साथै केन्द्रीय नापी विभागका महानिर्देशक , सचिव र कृषि ,भुमि ब्यबस्था तथा सहकारी मन्त्री र सराेकारवाला पक्षहरुसँग कानुनी जटिलता हटाउने र काम गर्ने वातावरण तयार गर्न अनुराेध गरिएको थियो ।´ पटकपटक सरकार परिवर्तन भइरहेकाे कारणले पनि काम गर्न अफ्ट्यारो भएको स्विकार गर्दै उहाँले भन्नुभयो , `अब हामी अन्तिम चरणमा छौं । कानुनी अबरोधलाई हटाएर भए पनि नागरिकले पाउने अधिकार प्रत्ययाेजन गर्ने उहाँको भनाइ रहेको छ ।
पुस १ गते देखि कार्यालय स्थापना गरि नापी र मालपोत कार्यालयकाे प्रविधिक टाेलिले काम सुरु गर्ने अध्यक्ष भुजेलले जानकारी दिनु भयो । दुइवटा वडाकाे लागि ४/४ जनाका दरले ८ जना कर्मचारीले सेवा प्रवाह गर्ने बताइएको छ। जग्गा धनी पुर्जा वितरण कार्य पुनसुचारु हुने र आबाश्यक कागजात सम्बन्धि वडामा बुझाउन वडा नम्बर ७ र ८ कार्यालयले सार्वजनिक सुचना मार्फत नागरिकलाई अब्हान गरि सकेको थियो ।


