मंसिर, १४ शुक्रबार ,२०८१
काभ्रेपलान्चोक । धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्त समिति र पनौती नगरपालिका बीच ५ बुँदे सहमति भएको छ। असाेज दाेस्राे सातकाे बाढीले पानीकाे मुहान र पाइप लाइनमा पुर्ण क्षति पुर्याएकाे थियो । खानेपानीकाे उचित मर्मत हुन नसक्दा धुलिखेलका उपभोक्ता मारमा परेका थिए।
खानेपानी उपभोक्ता समिति , धुलिखेल नगरपालिका र पनौती नगरपालिकाका प्रतिनिधीहरुकाे पटकपटककाे छलफल पछि विवाद समाधान उन्मुख पुगेकाे हो । धुलिखेल नगरपालिका र पनौती नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ।
पाँच बुँदामा हस्ताक्षरीत पत्रमा भनिएकाे छ , `धुलिखेल खानेपानी उपभोक्ता समितिले मुहान क्षेत्रमा निर्माण कार्य अगाडि बढाउने र अस्थायी खानेपानी ब्यवस्थापनकाे निम्ति पहल गरिने छ। यस्तै पनौती नगरपालिकाले अत्याधिक भौतिक क्षति ब्यहाेर्नु परेकाले तिनै पक्षकाे भाैतिक र आर्थिक साझेदारीमा पुननिर्माणकाे कार्य गरिने, पनौती बजार क्षेत्रमा पानीको अभाव रहेकाेले हाललाई १२ नम्बर वडाकाे बैरमहादेव मुलबाट अस्थायी रुपमा ब्यबस्थापन गरिने छ। साथै काभ्रे एकीकृत खानेपानीको निर्माण भइ पानीको संचालन नभएसम्म बैरमहादेवकाे मुल नै प्रयाेग गर्ने र पनौती १२ का स्थानीयलाई एकीकृत खानेपानीले नै एक घर ,एक धारा जडान गरिदिनु पर्ने सहमति भएको छ।´
सहमति पत्रमा धुलिखेल नगरपालिकाकाे तर्फबाट मेयर अशाेक ब्यन्जु ,उपमेयर निराजन जंगम, धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे तर्फबाट कृष्ण भूषण खाेजु र पनौती नगरपालिकाकाे तर्फबाट मेयर रामशरण भण्डारी ,उपमेयर गीता बञ्जरा र वडा नम्बर १२ का वडा अध्यक्ष जयराम के. सि. ले हस्ताक्षर गर्नु भएको छ।


