मंसिर १४,शुक्रबार २०८१
काभ्रेपलान्चोक । दाेलालघाटकाे नाम नसुन्ने मानिस कमै हाेलान्। उक्त स्थान राजधानी काठमाडौबाट ५६ किलाे मिटरकाे दुरीमा पर्छ। काभ्रेको बनेपा ,धुलिखेल र पाँचखाल हुँदै दाेलालघाट पुग्न सकिन्छ। यहाँ बर्सेनि हजारौं मानिसहरू माछा खान, पिकनिक र नदीमा पौडी खेल्न आउने गर्छन् । यहाँकाे माछा प्रख्यात मानिन्छ । प्राय: आन्तरिक पर्यटकहरु विदा मनाउन र पारिवारिक घुमफिरका लागि दाेलालघाट पुग्ने गरेका छन् ।
धार्मिक र पर्यटकीय महत्त्व बाेकेकाे दाेलालघाटमा माेटरेबल बाेट (र्याफ्टिङ) संचालन हुने भएको छ। कुनै समय र्याफ्टिङ संचालनमा चर्चा कमाएको दाेलालघाटले धेरैकाे मन जितेको थियो । यहाँ र्याफ्टिङकाे मज्जा लिन आन्तरिक र बाह्य पर्यटक आउने गरेका स्थानीय ब्यापारीहरु बताउँछन् ।
हाल दाेलालघाटमा भुम्लु गाँउपालिकाकाे सकृयता र ब्यवस्थापनमा माेटरेवल बाेट संचालन हुने भएको छ। बाेट संचालनका निम्ति महाँकाल वाटर सर्भिस प्रा.ली. र पालिका बीच एक बर्ष अगाडि नै दुईपक्षिय सम्झौता भएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो,` भुम्लुको पर्यटन प्रबर्द्धन र बिकासको लागि दोलालघाटकाे इन्द्रवती र सुनकोशी नदीमा मोटर बोट संचालन गर्न लागिएको हो । यसले पालिकाकाे आन्तरिक राजस्व वृद्धि गर्ने छ भने राेजगारी पनि सिर्जना गर्ने छ। ´ दाेलालघाटमा र्याफ्टिङकाे सुविधा दिन सकेमा आन्तरिक पर्यटकको वृद्धि हुनुका साथै स्थानीय ब्यवसायीहरुलाई थप लाभ हुने अध्यक्ष भुजेलकाे बुझाई रहेको छ।
कम्पनीले बिहीबार सुनकाेशी नदीमा बाेटकाे सफल परिक्षण गरेको छ। उक्त स्थानमा बाेट परिक्षण उत्साहजनक रहेको संचालक पक्षले प्रतिकृया दिएको छ।
बाम लाेकतान्त्रीक गठबन्धनबाट २०७९ बैशाखकाे स्थानीयतह निर्वाचनमा निर्वाचित हुनु भएकाे भुजेलले, चुनावी सभाकाे बेला जनतामाझ दाेलालघाटमा र्यार्फटिङ संचालन गर्ने प्रतिबद्दता गर्नु भएको थियो ।


