विचार , राजनीति र अबकाे यात्रा
रामेश्वर आचार्य
विचार :- विचारको प्रश्न , आवश्यकता र अौचित्य मान्छेको आदिमताबाट आधुनिकता तर्फ सँगसगै सुरु भएको बुझ्न कठिन हुदैन । समूह निर्माण , सामुहिकता, स्वाधीनता र सुरक्षाको सहजता प्रसार हुदै वैवाहिक प्रणाली , कृषि कार्य तथा उद्योग युगसम्म मान्छे निर्देशित भए जुन तत समयको वैचारिक विकास र चेतनास्तरको परिवर्तित पद्धतिबाट भएको पाइन्छ ।
उत्पादन , सामान र मजदुरिकाे नाममा आर्थिक वैचारिक सहजता खोज्दै मान्छेले त्यसको बदलामा सामान , श्रम हुदै मुद्राको प्रयोग अघि बढाए । जुन आर्थिक / मौद्रिक वैचारिकरणको आधुनिक विषय बन्यो । जसले उत्पादन र वितरणको नयाँ सहजता ल्यायो साथै सम्पन्नता र विपन्नता , सहजता र असहजता अनि वर्ग विभाजनको नयाँ रेखा कोरियाे । उक्त विभाजनले मान्छेको एक मानविय अधिकारलाई वर्ग भेद र रङ्गका नयाँ विभाजनका आधार निर्माण भए । आधुनिकता तथा पुरातनताका स्वरूपमा विचारको विकासलाई समय , समाज र ऐतिहासिक घटनाक्रमले पृथकता प्रदान गर्दै अघि बढ्यो ।
राजनीति :- विभिन्न धारणा , दृष्टान्त अनि सैद्धान्तिक आधारसहित सोचहरु विकसित भए जुन सोचले राजनीतिक प्रणालीलाई समुहको नेतृत्व (शक्तिको आधारमा )को तरिकामा परिवर्तित गरी नेता चुन्ने र नेतृत्व स्विकार्य हुने विभिन्न व्यवस्थाहरु स्थापित भए,जसमध्ये आज प्रजातान्त्रिक तथा वामपन्थी प्रणालीका रुपमा एकल सोच देखि सामुहिकताको राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको नेतृत्व गर्ने गरी उन्नत खालको प्रणाली विश्वसमुदायले अपनाई रहेको छ ।
विचारको वैज्ञानिकता , आवश्यकता र समताको सवाल तथा सर्वपक्षीय शासन प्रणाली स्थापना दुवै खालका वैचारिक , राजनीतिक प्रणालीका उद्देश्य भएपनि प्रणाली र प्रक्रियामा भने केही पृथकता पक्कै छन । तिनको समयानुकूल परिवर्तन तथा थप विकास आवश्यक छ । जसबाट नै अझै उन्नत र परिमार्जित पक्ष बाहिर आउन सक्छ ।
अबको यात्रा :-विश्व राजनीतिक रङ्गमन्च तथा हाम्रो राजनीतिक पर्दा अनि त्यसका अभिनेता तथा कलाकारहरु पनि हिजोको विकसित लेफ्ट र राइट वाला लाइनमा गोडाफार्ट र सर्तक गरि रहँदा कहिं कतै पुरातनताको जडसुत्रिय गन्ध त आइरहेको छैन ? भन्ने सवाल यतिबेला राम्रै सुनिन थालेको छ ।
मौलिक राजनीति , हाम्रो मौलिकता अनुसारको समाजवाद या परम्परागत राजनीति र पार्टी परिवर्तनको लहर जस्ता सवालले कोर्स करेक्सनको दिशा पक्कै पनि देखा परिरहेको कुरामा कुनै दुई मत छैन तसर्थ हाम्रो राजनीति, राजनीतिज्ञ र त्यसका साझेदारहरु पनि जड् सुत्रिय मार्ग छाडेर हाम्रो आफ्नो मौलिक राजनीतिक दिशा तर्फ लम्कनु अत्यन्त जरुरी छ । जसलाई हाम्रो आफ्नो मौलिकता , आध्यात्मिकता तथा प्राकृतिक बिशेषतासग परिचित गराउनु आवश्यक छ ।
जसमा जीवन निर्वाह , दर्शन , चेतना र बुझाईको पुर्विय दर्शनात्मक बैज्ञानिकता अनि मानवीय मुल्यको अलौकिक अनुपमता जस्ता बिषय समेटिनु पर्छ । त्यस्तो खालको उन्नत प्रगतिशील तथा सर्वपक्षीय बिचारलाई मौलिक समाजवाद या समतामूलक वहुलवादि बिशेषतासग जोडेर समानता , बिकास र उन्नतको अधिक आधुनिक शैद्धान्तिक श्रेष्ठतासगसगै बिकसित गर्न सकिन्छ ।
तसर्थ जनचाहना , विश्वव्यापीकरणको आवश्यकता तथा हाम्रो स्रोत र स्रोतको उपलब्धता अनुसारको सम्भावनालाई ध्यानमा राखेर जवाफदेही , पारदर्शी तथा नैतिकवान डेलिभरि सहितको राज्यान्तरण आजको प्रमुख आवश्यकता हो ।
( आचार्य नेकपा एस काभ्रेका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू काभ्रे अध्यक्ष हुनुहुन्छ ।)


