विदेशी दस्तावेजमा नेपाली नेतृत्वको नाम जोडिएको विषयमा सरकारको ध्यानाकर्षण

+
-

काठमाडौं । विदेशी प्रतिवेदन तथा कागजातमा नेपाली राजनीतिक दलका सभापतिलगायत नागरिक अगुवालाई अमेरिकी सरकारको ‘सत्ता परिवर्तन’ (रिजिम चेन्ज) परियोजनाबाट प्रशिक्षित तथा उत्प्रेरित भएको उल्लेख गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एक सांसदले विदेशी दस्तावेजमा नेपाली संस्था वा नेतृत्वको नाम जोडिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमा असर पर्ने अवस्था आउन नदिन सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताए। नेपाललाई कुनै पनि प्रकारको भू–राजनीतिक प्रयोगस्थल बन्न दिन नहुनेमा आफूहरू स्पष्ट रहेको उनको भनाइ थियो।

बैठकमा सांसदले लुम्बिनी र कपिलवस्तुको तिलौराकोटको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए। भगवान बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धले जीवनको २९ वर्ष बिताएको भनिएको तिलौराकोट महत्वपूर्ण पुरातात्त्विक तथा धार्मिक सम्पदा भए पनि राज्यको पर्याप्त ध्यान पुग्न नसकेको उनले बताए।

उनका अनुसार लुम्बिनी विकास कोषमा पदाधिकारीका अधिकांश पद रिक्त हुँदा कर्मचारीबाट निमित्तका रूपमा काम सञ्चालन भइरहेको छ। त्यसैले तत्काल पदाधिकारी नियुक्त गरी कोषलाई पूर्णता दिन उनले सरकारसँग माग गरे।

लुम्बिनीको मास्टर प्लानअनुसार पहिलो चरणको निर्माण सन् १९९५ मै सम्पन्न हुनुपर्ने भए पनि तीन दशक बितिसक्दा समेत करिब ६० देखि ७० प्रतिशत मात्रै काम सम्पन्न भएको उनको दाबी छ।

लुम्बिनी विकास कोषले समयानुकूल योजना बनाएर प्रदेश तथा स्थानीय सरकारका स्रोत–साधनसँग समन्वय गर्दै अघि बढ्नुपर्ने उनले बताए। यसबाट क्षेत्रको समन्वित विकास, स्थानीय स्वामित्व र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उनको भनाइ छ।

लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको पहलमा गठित ‘नेसनल कमिटी फर द डेभलपमेन्ट अफ लुम्बिनी’लाई पुनः सक्रिय बनाउन पनि उनले सरकारसँग आग्रह गरे। उक्त संयन्त्रलाई सक्रिय बनाउँदा अन्तर्राष्ट्रिय सहकार्य, विशेषज्ञता तथा स्रोत परिचालन र लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए।

लुम्बिनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप व्यवस्थित र प्रभावकारी ढंगले विकास गर्न सरकारले विकास कोषलाई पर्याप्त तथा नियमित बजेट उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए।

उनले लुम्बिनीको दीगो विकासका लागि कानुनी सुधार, संस्थागत सुदृढीकरण, प्रशासनिक दक्षता, अन्तर्राष्ट्रिय सहकार्य र पर्याप्त बजेट आवश्यक रहेको बताए। यी सुधार कार्यान्वयन गर्न सके लुम्बिनीको विश्वव्यापी प्रतिष्ठा थप अभिवृद्धि गर्दै यसलाई शान्ति, आध्यात्मिकता, बौद्ध सम्पदा र विश्वबन्धुत्वको केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो