काठमाडौं । सांसद रेनु यादबले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि विदेशिएका युवालाई स्वदेश फर्काउने भनिएको अभियान कहाँ पुगेको भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादबले चुनावअघि रास्वपाका नेताहरूले विदेशिएका युवालाई स्वदेश फर्काउने तथा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि अहिले सरकार बनेपछि त्यसको कार्यान्वयनबारे जवाफ दिनुपर्ने बताइन्।
उनले रास्वपाका सभापति रवि लामिछानेले युवालाई स्वदेश फर्काउने विषयमा दिएको अभिव्यक्तिको भिडियो अहिले पनि सामाजिक सञ्जालमा रहेको उल्लेख गर्दै भनिन्, ‘स्टनबाजी मात्र गर्ने हो कि व्यवहारमै उतार्ने हो?’
सांसद यादबले सरकार संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै संसद सरकारलाई बाधा पुर्याउने ठाउँ नभई जनताप्रति सरकारलाई उत्तरदायी बनाउने संवैधानिक सर्वोच्च स्थल भएको उल्लेख गरिन्।
उनले प्रधानमन्त्री संसदमा नियमित उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने मागसमेत गरिन्।प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
‘विदेशबाट युवालाई स्वदेश फर्काउँछौँ भनेर चुनावअघि भन्नुभएको थियो। अहिले सरकार तपाईंकै छ। अहिलेसम्म कति युवा स्वदेश फर्किए?’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।
युवाहरू रोजगारीका लागि देश छाड्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ठोस योजना आवश्यक रहेको उनको भनाइ थियो। उनले अब भाषण र स्टन्टभन्दा जनताको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन देखिनुपर्ने बताइन्।
सरकारसँग युवालाई रोजगारीको अवसर सिर्जना गर्न, किसानलाई सहज रूपमा मल, बीउ, ढुवानी तथा सिँचाइको व्यवस्था गर्न, सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन र सीपयुक्त शिक्षाको वातावरण निर्माण गर्न आग्रह गरिन्।


