समाचार
राम्रोसँग ‘संसार देख्न नपाउँदै घाँटी रेटेर हत्या गर्ने कस्तो निर्दयी पापी होला ?
धनुषाको मिथिला नगरपालिकाको मुख्य बजार केन्द्र ढल्केबर यतिबेला शोकमा डुबेको छ। ढल्केबरका चोक-चोकदेखि चिया पसलमासमेत बालकको हत्याबारे कुरा हुन्छ। ‘बच्चाको घाँटी रेटेर हत्या गर्ने कस्तो निर्दयी पापी होला,’ प्रायः सबैका मुखबाट यतिबेला यही विलौना सुनिन्छ।अतालिएको छ, ढल्केबर। पछिल्लो पटक प्रदेश–२ को धनुषा सहितका जिल्लाहरूमा बालबालिकामाथि भइरहेको हिंसाले स्थानीयहरू भयभित छन्।उनीहरू आक्रोशित छन्।मृतक बालकका आमा ३५ वर्षीया रेनु साह मुर्छित् छिन्।मेरो राजाबाबु मलाई छोडेर कहाँ गयौ अर्थात् ‘हमर राजाबाबु हमरा छोइर के कत चैयल गेलै,’ भन्दै भक्कानिन्छिन्।
मृतक बालकको १२ वर्षीया दिदी अर्चना साहले ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरो खेल्बै’ अर्थात् अब कसलाई भाई भन्ने, कोसँग खेल्नेु भन्दै रोएर बसेकी छन्।बालककी हजुरआमाले ‘हमर जिगर के टुकडा केकरा कथी बिगार करले छलै, ओते छोट्का बच्चाले केना माइर देलकै।’ अर्थात् पापीहरूले त्यति सानो बाबुको हत्या कसरी गर्न सके?छोराले ‘माई’ भनेर बोलाउने तोतेबोली रेनुको मानसपटलमा ताजै छ। मृतकका बाबु शम्भु साह वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन्।सोमबार साँझ गाउँ बाटै अपहरणमा परेका अढाई वर्षीय बालक आर्यन साहको घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा शव भेटिएको थियो।
‘बालकलाई हामीले जिउँदै फेला पार्न हराएको बेलादेखि नै खोजिरह्यौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले भने, ‘तर मंगलबार बिहान एकाएक घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटियो।’ पछाडिबाट घाँटी रेटिएको अवस्थामा बालकको शव भेटिएको हो।प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा छ।अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ। मंगलबार छिमेकीसमेतका चुलोमा आगो बलेन।‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ,’ मृतक आर्यनका काका सञ्जय साहले भने, ‘समाजमा हिजोआज के भइरहेको छ, बुझ्न सकिएन।’



