पत्रपत्रिकाबाटप्रवासबिचार/ब्लगविश्वसमाचार
नेपाल पत्रकार महासंघ काभ्रेको साधारणसभा, प्रेस स्वतन्त्रता र सरकारी नीतिविरुद्ध आन्दोलनको चेतावनी

२०८२जेठ९ शनिबार
काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ काभ्रेकाे साधरण सभा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले विज्ञापन क्षेत्रमा लगाएको अंकुश तथा एकद्वार प्रणालीको विरोध गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले संघीयताको मूल मर्मविपरीत असंवैधानिक गतिविधि भइरहेको आरोप लगाउँदै राज्यका गलत गतिविधिविरुद्ध महासंघ सशक्त रूपमा उभिने बताउनुभयो। “सरकारले साना आवाज नसुने हामी सडकमा आउँछौं,” उहाँले भन्नुभयो। साइबर ब्युरो प्रयोग गरेर समाचार नलेख्न दबाब दिने प्रवृत्ति बढेको भन्दै उहाँले दुईतिहाइको दम्भ देखिन थालेको टिप्पणी गर्नुभयो। संविधान संशोधन र नीति निर्माणका विषयमा खबरदारी आवश्यक रहेको उल्लेख गर्दै नागरिकलाई पनि हस्ताक्षर अभियानमा साथ दिन आग्रह गर्नुभयो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर ले राज्यमा प्रभावकारी प्रतिपक्ष कमजोर रहेको अवस्थामा मिडिया नै सशक्त प्रतिपक्ष भएको बताउनुभयो। प्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो। पत्रकारिताको परिवेश परिवर्तन हुँदै गएकाले पत्रकारिताको शैली पनि समयअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो। प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय हटाउने तयारीप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व सभापति भोजराज तिमल्सिना ले पत्रकारहरूको क्षमता विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। छापा सञ्चार क्रमशः विस्थापित हुँदै डिजिटल प्लेटफर्म अगाडि बढिरहेको उल्लेख गर्दै विश्वभर सम्पादकीय लेखेरै पत्रपत्रिका बन्द हुने अवस्था आएको उहाँले बताउनुभयो ।
यस्तै पुर्व सभापतिहरु मध्य ईश्वरी ओझाले सरकार र कर्मचारीतन्त्र समक्ष पत्रकारका समस्या सशक्त रूपमा राख्नुपर्ने आवश्यकता औंल्याउँदै प्रेसमाथिको दमन टुलुटुलु हेरेर बस्न नमिल्ने बताउनुभयो। कार्यक्रममा पुर्व सभापति तथा सल्लाहकार भोला थापाले आम नागरिकले कस्तो सामग्री सुन्न, पढ्न र हेर्न चाहन्छन् भन्ने मूल्यांकन गरेर मात्रै सामग्री उत्पादन गर्नुपर्ने बताउनुभयो।
महेशराज पौडेलले नेपालको पत्रकारिता दिशाविहीन अवस्थामा अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। नागरिक तहमा युट्युब र सामाजिक सञ्जाललाई नै सञ्चारमाध्यमका रूपमा बुझ्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो। यस्तै पुर्व सभापति मोतिराम तिमल्सिनाले पत्रकार महासंघको एकतालाई कसैले तोड्न नसक्ने धारणा राख्नुभयो। पूर्व सभापति बद्रिराज तिमल्सिनाले क्रियाशील पत्रकारहरूको संरक्षणमा लाग्न आवश्यक रहेको बताउँदै केन्द्रले गरेका निर्णय कार्यान्वयनमा काभ्रेले उत्कृष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
बक्ताहरुबाट क्रमशःसञ्चारिका समूह काभ्रे अध्यक्ष सुनिता सापकोटाुले सञ्चारिका समूहमा महिला सदस्यको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले एआई र डिजिटल पत्रकारितासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम महासंघसँग समन्वय गरेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रेस सेन्टर नेपालका अध्यक्ष राम प्रसाद ढकाल ले राम्रो कामको सहयोग आवश्यक रहेको उल्लेख गर्दै पत्रकार महासंघ काभ्रेले पत्रकारहरूको हकहितका लागि पर्याप्त अवसर सिर्जना गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। नेपाल प्रेस युनियनका तर्फबाट कोषाध्यक्ष शुभराज अधिकारी ले साधारणसभाले लिएका लक्ष्य पूरा होऊन् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
फोनिज अध्यक्ष इन्द्रबहादुर थापा ले सामाजिक सञ्जालका कारण पत्रकार र सामाजिक प्रयोगकर्ताबीचको भिन्नता छुट्याउन कठिन हुँदै गएको भन्दै सचेत रहन आग्रह गर्नुभयो। महासंघका उपाध्यक्ष कपिल कोइराला ले सरकारी विज्ञापनलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै पत्रकार महासंघको भवन निर्माण सम्पन्न भएको, वेबसाइट सञ्चालनमा आएको, पत्रकार बीमा तथा कल्याणकारी कोषमार्फत दुई जना पत्रकारलाई सहयोग गरिएको जानकारी दिइयो।
कार्यक्रमकाे बन्द सत्रमा महासंघका सचिव नगेन्द्र अधिकारीले सांगठनिक र काेषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नुका साथै अध्यक्ष बिनाेद कुमार न्यौपानेले धन्यवाद सहित कार्यक्रमकाे समापन गर्नु भएको थियो ।
साधारणसभामा अग्रज पत्रकार मधुसूदन गुरागाईंलाई “भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ
