बिचार/ब्लगमनोरञ्जनसमाचार
प्राज्ञिक संलापमाथि सुप्रभात काव्यगोष्ठीमा परिचर्चा, पूर्ण विरामका कविता पनि वाचन

काठमाडौँ, जेठ १६, २०८३
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित नियमित “सुप्रभात काव्यगोष्ठी” मा साहित्यकार दिल पौडेलको कृति ‘प्राज्ञिक संलाप’ माथि परिचर्चा गरिएको छ।
शनिबार बागबजारस्थित इजी वे सहकारी संस्थाको भवनमा प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार, समालोचक तथा समसामयिक स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले अन्य साहित्यिक संस्थाका कार्यक्रमभन्दा नागार्जुनको कार्यक्रम फरक र प्रभावकारी लागेको बताउँदै ‘प्राज्ञिक संलाप’ लाई विभिन्न व्यक्तित्वबारेको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गर्नुभयो। एउटै मञ्चबाट धेरै कार्यक्रम सञ्चालन गर्दै कवि–साहित्यकारलाई स्थान दिनु प्रतिष्ठानको प्रशंसनीय कार्य भएको उहाँको भनाइ थियो।
कृतिमाथि समालोचक तथा साहित्यकार डा. फणीन्द्रराज निरौलाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। उहाँले पुस्तकमा निस्पक्षता, संवेदनशीलता, सिर्जनशीलता तथा लेखकको क्षमता स्पष्ट रूपमा अभिव्यक्त भएको बताउनुभयो। बीस जना प्राज्ञिक व्यक्तित्वसँग विभिन्न विषयमा गरिएको संवादले पुस्तकलाई विषयगत गहिराइ प्रदान गरेको उहाँको निष्कर्ष थियो।
कार्यक्रमअन्तर्गत “पूर्ण विरामका कविता” शीर्षकमा वरिष्ठ कवि पूर्ण विरामका कविता वाचन गरिएका थिए। सो अवसरमा रोमा लम्सालले ‘अधिल्लो वर्ष यो देशको कथा यस्तै थियो’ कविता वाचन गरी पुरस्कार प्राप्त गर्नुभयो भने कवि प्रकाश कोइरालाले ‘संवाददाताहरू भन्छन्’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो।
काव्यगोष्ठीमा दुई दर्जनभन्दा बढी कविहरूले आफ्ना रचना सुनाएका थिए। यसपटकको ‘स्रष्टा विशेष’ मा कवि शोभा दुलाल प्रस्तुत हुनुभएको थियो। उहाँले आधा दर्जन कविता वाचन गर्नुभएको कार्यक्रमको आकर्षण बनेको थियो।
कार्यक्रमको समापनमा प्रतिष्ठानका अध्यक्ष कवि दिल पौडेलले सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो। प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव माधव घिमिरे अटलले स्वागत मन्तव्य राख्नुभएको थियो।
