
२०८३ जेठ २१ बिहीबार
काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौँ जिल्ला सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले प्रस्तुत गर्नुभएको १३ बुँदे नीति तथा कार्यक्रमको मूल नारा “जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक : दिगो समृद्धितर्फको साझा अभियान” रहेको छ।
जिल्ला सभामा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
पारित नीति तथा कार्यक्रमका प्रमुख विषयहरूमा जलवायु परिवर्तन तथा जलवायु उत्थानशील काभ्रेपलाञ्चोक अभियान, विपद् व्यवस्थापन तथा पूर्वतयारी, समन्वय केन्द्रको सुदृढीकरण, विकास नेतृत्व, सन्तुलित विकास र समावेशी समृद्धि, सुशासन, नागरिकमैत्री शासन तथा चुस्त सेवा प्रवाह, परिणाममुखी अनुगमन र उत्तरदायी प्रशासन, वित्तीय अनुशासन तथा संस्थागत सुशासन, कृषि आधुनिकीकरण र आत्मनिर्भरता, रैथाने बाली तथा स्थानीय अर्थतन्त्रको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक समृद्धि, शिक्षा, सीप तथा नवप्रवर्तन, स्वास्थ्य, सामाजिक न्याय तथा मानव विकास, साथै स्वच्छ, सुरक्षित र व्यवस्थित काभ्रेपलाञ्चोक निर्माण रहेका छन्।
सभाले केही विशेष निर्णयहरू पनि पारित गरेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश विषय, प्राथमिकता, उद्देश्य तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम अनुमोदन तथा पारित गरिएको छ।
त्यसैगरी, स्थानीय तहबाट प्राप्त कन्टिजेन्सी रकम (०.५ प्रतिशत) खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०८० (संशोधन) अनुमोदन गरिएको छ। साथै जिल्ला मौज्दात कोषमा रहेका खर्च शीर्षकहरूमध्ये स्थानीय तहको लागत साझेदारीमा सञ्चालन भएका योजनाहरूमा जिल्ला समन्वय समितिको बोर्ड बैठकको निर्णयबमोजिम रकमान्तर गरी खर्च भएको रकम अनुमोदन गर्ने तथा दायित्व सिर्जना भएका रकम खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत पारित गरिएको छ।



