
प्रधानमन्त्री
२०८३ जेठ १७ आइतबार
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिलाई असामान्य र गम्भीर टिप्पणीका रूपमा लिनुपर्ने बताएका छन्।
उनले नेपालले पनि भारतको सीमा मिचेको हुन सक्ने आशयको अभिव्यक्ति सार्वजनिक पदमा रहेको व्यक्तिबाट आउनु चिन्ताजनक रहेको बताए। दुई देशबीच सीमा विवाद कायम रहेको अवस्थामा तेस्रो देशको उपस्थितिको प्रस्तावसमेत संवेदनशील विषय भएको उनको भनाइ छ।
आचार्यका अनुसार अहिलेसम्म कुनै पनि प्रधानमन्त्री वा उच्च सरकारी नेतृत्वले संसद् वा सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति नदिएको उल्लेख गर्दै यस्ता भनाइले नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने खतरा रहेको बताए।
उनले सीमा अतिक्रमण दुवै देशबाट भएको भन्ने सरकारी तहको अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको सन्देश दिन सक्ने धारणा राखे।
आचार्यले सीमा, सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएका विषयमा राज्यका जिम्मेवार निकाय तथा नागरिकहरू थप सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्।