दाताको सहयोगमा एक सय घर पुनर्निर्माण

+
-

विनाशकारी भूकम्पले क्षतिग्रस्त दोलखाको बैतेश्वर गाउँपालिका–३ स्थित यार्सा गाउँको पुनर्निर्माण भएको छ । दाताको सहयोगमा विद्यालय भवनसहित यार्साका ९९ घर रहेको बस्तीको पुनर्निर्माण भएको हो । बस्तीको पुनर्निर्माणमा जापानको टोकियोमा रहेका नेपाली मूलका व्यापारी विनोद तामाङ, जापानिज महिलाहरू इकितो मितो, जेन्सी ई मितो, अमेरिकी नागरिक डा. गेरी योङलगायतले अभियान चलाएका थिए । विदेशी दाताको सहयोगले बस्तीको पुनर्निर्माण सम्भव भएको बस्ती निर्माणमा साझेदारी गरेको स्थानीय गैरसरकारी संस्था फामसका सचिव लक्ष्मण खड्काले बताए ।

दाताको सहयोगले पुनर्निर्माण भएको दोलखाको यार्सा गाउँ । तस्बिर : नयाँ पत्रिका
यार्सा पुनर्निर्माणका अगुवा डा. गेरीको निधन
यार्साको पुनर्निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकी नागरिक डा. गेरी योङको दुई साताअघि हृदयाघातका कारण निधन भएको छ । अमेरिकामै उनको निधन भएको हो । उनको निधनले यार्सावासी शोकमा छन् । उनको निधन नभएको भए यही साता उनको समेत उपस्थितिमा भव्य समारोहको आयोजना गरी बस्ती उद्घाटन गर्ने तयारी थियो । डा. गेरीको निधनले कार्यक्रम गर्न नसकिएको स्थानीय ८३ वर्षीय दातेम्बा शेर्पाले बताए ।

पुनर्निर्माणमा ६ करोड खर्च
९९ घर र एक विद्यालय भवन निर्माण गर्न झन्डै ६ करोड रुपैयाँ खर्च भएको छ । बस्तीको पुनर्निर्माणका लागि अमेरिकी नागरिक गेरीले मात्रै ४० लाख रुपैयाँ सहयोग गरेका छन् । १ जनवरी ०१७ बाट सुरु भएको पुनर्निर्माण एक साताअघि मात्र सकिएको हो । यार्सामा एउटा सरकारी विद्यालयसहित ९९ घर तयार भएको छ ।