चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ नियमले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउन र अनधिकृत रूपमा उडाउनसमेत रोक लगाउनेछ ।
करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोक्किँदा चालकको मृत्यु र अन्य १३ जना घाइते भएपछि हवाई सुरक्षाबारे चिन्ता बढेको थियो । नगर सरकारले राजधानीको सुरक्षा सुनिश्चित गर्न नयाँ व्यवस्था आवश्यक भएको जनाएको छ ।
गत मेदेखि नै बेइजिङमा ड्रोन बिक्रीमा प्रतिबन्ध लगाइएको थियो भने ड्रोनका मालिकले आफ्ना उपकरण दर्ता गर्नुपर्ने व्यवस्था थियो । नयाँ नियमअनुसार ड्रोनधनीले नोभेम्बर १५ भित्र आफ्ना उपकरण नष्ट गर्न वा सहरबाहिर लैजानुपर्नेछ । सरकारले त्यसका लागि पुनःखरिद तथा निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने भएको छ ।
आतङ्कवाद नियन्त्रण, कृषि, विपद् उद्धार र अनुसन्धानजस्ता विशेष प्रयोजनका लागि भने नयाँ व्यवस्थाअन्तर्गत छुट दिन सकिनेछ ।


