न्युयोर्क, ५ वैशाख । अमेरिकी पूर्व प्रथम महिला तथा शिक्षा अभियन्ता बारबरा बुसको ९२ वर्षको उमेरमा निधन भएको छ ।
बारबरा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसकी श्रीमती हुन् । जर्ज एचडब्लु बुसको कार्यालयबाट जारी गरिएको व्यक्तव्यमा उनको निधन भएको पुष्टि गर्दै बारबरालाई पारिवारिक साक्षरताकी अथक अभियन्ताको रुपमा चित्रित गरिएको छ ।
जर्ज एचडब्लु बुसको कार्यालयबाट जारी गरिएको व्यक्तव्यमा उनको निधन भएको पुष्टि गर्दै बारबरालाई पारिवारिक साक्षरताकी अथक अभियन्ताको रुपमा चित्रित गरिएको छ ।
बारबरा बुस छोरा तथा अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको साथमा । बारबरा अमेरिकाको इतिहासमा एक मात्र त्यस्ती महिला हुन्, जसले श्रीमान र छोरा दुवैले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको देख्न पाइन् । उनका छोरा जर्ज डब्लु बुस सन् २००० मा राष्ट्रपति भएको थिए र दुई कार्यकाल जिम्मेवारी सम्हाले ।
बारबराको स्वास्थ्य पछिल्लो समय राम्रो थिएन । उनले आफ्नो जीवनको अन्तिम समय परिवारको साथमा बिताउन चाहेको बताएकी थिइन् । बारबरा र उनका श्रीमान् ७३ वर्ष साथमा रहेका थिए ।
बारबराका श्रीमान् जर्ज एचडब्लु बुस अमेरिकाको इतिहासमा सबै भन्दा धेरै बाँचेका राष्ट्रपति हुन् । उनी अहिले ९३ वर्षका छन् । उनी अमेरिकाका ४१ औँ राष्ट्रपति हुन् । उनी १९८९ देखि १९९३ सम्म कार्यालयमा थिए ।
बारबरा र बुसका छोरा जर्ज डब्लु बुस सन् २००० मा अमेरिकाको ४३ औँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए ।
उनले वक्तव्य जारी गरेर आफ्नी आमाको निधन भएको र आफूहरु निकै दुःखी रहेको बताएका छन् । आमा बारबरा अरु महिला जस्तै रहेको र उनले धेरैमा मुस्कान, माया र साक्षरता फैलाएको उल्लेख गरेका छन् ।
यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि वक्तव्य जारी गरेर सामान्य तर परिवार, साथी र देशका लागि ठूलो काम गर्ने क्षमताको व्यक्ति रहेको उल्लेख गरेका छन् । – एजेन्सी


